विकट ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, दलित, जनजाति तथा सुविधा–विमुख विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले यस क्षेत्रका शैक्षिक तथा सामाजिक अगुवाहरूको नेतृत्वमा ग्रामीण स्तरमै चन्दा संकलन गरी तत्कालिन वि.सं. २०६५ सालमा गुल्मी जिल्ला, क्षेत्र नं. ३, वस्तु गा.वि.स.मा श्री धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस स्थापना गरिएको हो। यो क्याम्पस त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त गरी सामुदायिक क्याम्पसको वर्गीकरणमा परेको छ र सामुदायिक क्याम्पस संघमा समेत दर्ता भएको छ। हाल मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकाय गरी दुई संकायका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यस क्याम्पसमा विहानी सत्रमा प्रत्यक्ष शैक्षणिक गतिविधि सञ्चालन हुँदै आएको छ। अभ्यास–अध्यापनका लागि विशेष व्यवस्था गरिएको छ। अनुसन्धान तथा विशेष कक्षाहरूका लागि प्रोजेक्टरमार्फत अध्यापन गर्ने सुविधा मिलाइएको छ। त्यस्तै, इन्टरनेट (ई–लाइब्रेरी) सुविधा पनि उपलब्ध गराइएको छ।